The Highlights NepalEnglish
राष्ट्रिय

रौतहटमा १ लाख २० हजार अन्तःशुल्क स्टिकर बरामद, १ करोडभन्दा बढी राजस्व चुहावट रोकियो

2026-10-02
रौतहटमा १ लाख २० हजार अन्तःशुल्क स्टिकर बरामद, १ करोडभन्दा बढी राजस्व चुहावट रोकियो
रौतहटमा १ लाख २० हजार अन्तःशुल्क स्टिकर बरामद, १ करोडभन्दा बढी राजस्व चुहावट रोकियो

रौतहट, १६ असोज । रौतहटको सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीले ठूलो परिमाणमा मदिरामा प्रयोग हुने अन्तःशुल्क स्टिकर बरामद गर्दै सम्भावित राजस्व चुहावट नियन्त्रण गरेको छ। बौधिमाई नगरपालिका–७ स्थित बंकुल भन्सार पछाडिको धानबारी क्षेत्रबाट १ लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद गरिएको हो।

सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोस्ट (बीओपी) सरमुजवाका सशस्त्र प्रहरी निरीक्षक अच्युत सुबेदीको कमाण्डमा खटिएको गस्ती टोलीले शुक्रबार भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याइँदै गरेको अवस्थामा उक्त स्टिकर नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार दुई जना व्यक्तिले कार्टुनमा बोकेर स्टिकर नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा सुरक्षाकर्मीलाई देखेपछि सामान छाडेर भारततर्फ फरार भएका थिए।

बरामद गरिएको स्टिकर नेपाल सरकारको आन्तरिक राजस्व विभागबाट जारी हुने ५० यूपी १८० एमएल क्षमताका मदिराका बोतलमा प्रयोग गरिने प्रकारका रहेको सशस्त्र प्रहरीले जनाएको छ। ६ रोलमा रहेका ती स्टिकरको संख्या १ लाख २० हजार थान रहेको बताइएको छ।

प्रारम्भिक अनुसन्धानअनुसार उक्त स्टिकर अवैध रूपमा मदिराका बोतलमा प्रयोग गरिएको भए राज्यलाई ठूलो परिमाणमा राजस्व क्षति पुग्न सक्ने देखिएको छ। गौर भन्सार कार्यालयसँग गरिएको समन्वयअनुसार आर्थिक ऐनमा तोकिएको दरबमोजिम ५० यूपी १८० एमएल मदिरामा प्रति स्टिकर ८८ रुपैयाँ २० पैसा अन्तःशुल्क लाग्ने व्यवस्था छ।

यस आधारमा बरामद भएका सबै स्टिकर गैरकानुनी रूपमा प्रयोग भएको खण्डमा करिब १ करोड ५ लाख ८४ हजार रुपैयाँ बराबरको राजस्व नोक्सानी हुन सक्ने प्रारम्भिक अनुमान गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

बरामद स्टिकर आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि गौर भन्सार कार्यालय, रौतहटमा बुझाउने प्रक्रिया अघि बढाइएको छ। साथै घटनामा संलग्न भई फरार भएका व्यक्तिहरूको खोजीका लागि भारतीय सीमा सुरक्षा बल (एसएसबी) सँग समेत समन्वय गरी अनुसन्धान अगाडि बढाइएको बताइएको छ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण रौतहटका प्रमुख एसपी चेतराज जोशीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ भने राजस्व छली तथा अवैध कारोबारमा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी दायरामा ल्याउने प्रयास जारी रहेको छ।
सेयर गर्नुहोस्:
Facebook