The Highlights Nepalनेपाली
World

फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो: १८ सय बढी नाबालिगसहित २ हजार पक्राउ, ५६० विद्यालय प्रभावित

2026-10-02
फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो: १८ सय बढी नाबालिगसहित २ हजार पक्राउ, ५६० विद्यालय प्रभावित
फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो: १८ सय बढी नाबालिगसहित २ हजार पक्राउ, ५६० विद्यालय प्रभावित

​पेरिस। फ्रान्समा विद्यालयका विद्यार्थीहरूले सुरु गरेको आन्दोलन थप हिंसात्मक र तनावपूर्ण बन्दै गएको छ। शुक्रबार देशका विभिन्न उच्च माध्यमिक विद्यालय बाहिर व्यापक आगजनी, बाटो अवरोध र प्रहरीसँग झडप भएपछि स्थिति नियन्त्रण बाहिर पुगेको छ।

​गत सातादेखि सुरु भएको यो आन्दोलनका कारण देशभरका ५६० भन्दा बढी उच्च माध्यमिक विद्यालयहरूको पठनपाठन पूर्ण तथा आंशिक रूपमा ठप्प भएको फ्रान्सेली शिक्षा मन्त्रालयले जनाएको छ।
​प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले चलाएको अभियानका क्रममा हालसम्म करिब २ हजार जनालाई नियन्त्रणमा लिइएको छ। पक्राउ पर्नेहरूमा ९० प्रतिशतभन्दा बढी (१८ सयभन्दा बढी) नाबालिग विद्यार्थी रहेका छन्।

​झडप र हिंसाका कारण मानवीय तथा भौतिक क्षति समेत उच्च छ। आन्दोलनका क्रममा ४० जना प्रधानाध्यापकसहित ६५ जना विद्यालय कर्मचारी र करिब १७० जना विद्यार्थी घाइते भएका छन्। त्यसैगरी, आगजनी र तोडफोडका कारण १०० भन्दा बढी विद्यालयका भवन तथा भौतिक पूर्वाधारमा गम्भीर क्षति पुगेको छ।

​विद्यार्थीहरूले विद्यालयहरूमा शिक्षकको कमी, क्षमताभन्दा बढी भिडभाड र जिर्ण पूर्वाधारको विरोध गर्दै प्रदर्शन जारी राखेका हुन्। सरकार र शिक्षा मन्त्रालयले विद्यार्थीहरूलाई शान्त रहन र वार्ताबाट समस्याको समाधान खोज्न अपिल गरिरहेका छन्।