The Highlights NepalEnglish
राष्ट्रिय

सांसदको अभिव्यक्तिप्रति नेसनल मेडिकल कलेजको ध्यानाकर्षण: आरोप प्रमाणित गर्न चुनौती

2026-10-02
सांसदको अभिव्यक्तिप्रति नेसनल मेडिकल कलेजको ध्यानाकर्षण: आरोप प्रमाणित गर्न चुनौती
सांसदको अभिव्यक्तिप्रति नेसनल मेडिकल कलेजको ध्यानाकर्षण: आरोप प्रमाणित गर्न चुनौती

​वीरगञ्ज, पर्सा | १६ असोज
​प्रतिनिधिसभा सदस्य (सांसद) रहबर अनसारीले संसदमा नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जविरुद्ध दिएको अभिव्यक्तिप्रति कलेज प्रशासनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। असोज १६ गते एक प्रेस विज्ञप्ति जारी गर्दै कलेजले सांसद अनसारीद्वारा लगाइएका गम्भीर आरोप तथा टिप्पणीहरू निराधार र तथ्यहीन रहेको दाबी गरेको छ।

​कलेजका प्रशासन प्रमुख विश्वनाथ कण्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा विगत २५ वर्ष (सन् २००१) देखि त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी सञ्चालनमा रहेको संस्थामाथि बिना प्रमाण भ्रम फैलाइएको उल्लेख छ। कलेजले चिकित्सा शिक्षा आयोग, त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान (IOM), नेपाल मेडिकल काउन्सिल तथा स्वास्थ्य मन्त्रालय जस्ता नियमनकारी निकायको नियमित अनुगमन र मापदण्डभित्रै रहेर सेवा प्रवाह गरिरहेको स्पष्ट पारेको छ।

​विज्ञप्तिमा भनिएको छ, "हालसम्म कुनै पनि नियमनकारी वा सरकारी निकायबाट त्यस्ता आरोप पुष्टि हुने आधिकारिक निष्कर्ष प्राप्त भएको छैन। कलेज तथ्यमा आधारित निष्पक्ष र पारदर्शी परीक्षणका लागि पूर्ण रूपमा तयार छ।"

​चिकित्सा शिक्षा र स्वास्थ्य सेवा जस्तो संवेदनशील क्षेत्रमा सार्वजनिक रूपमा उठाइने विषयहरू प्रमाणित तथ्य र आधिकारिक निकायको परीक्षणमा आधारित हुनुपर्ने जोड दिँदै अपुष्ट आरोपले विद्यार्थी, चिकित्सक, कर्मचारी, बिरामी तथा सर्वसाधारणमा अनावश्यक भ्रम र अविश्वास सिर्जना गर्ने कलेजले जनाएको छ।

​कलेजले आफ्नो २५ वर्षको संस्थागत इतिहास, चिकित्सा शिक्षाको गुणस्तर, सुरक्षित स्वास्थ्य सेवा र नियमकीय मापदण्डको पालनाप्रति सदैव प्रतिबद्ध रहेको पुनः दोहोर्‍याएको छ।
सेयर गर्नुहोस्:
Facebook