The Highlights NepalEnglish
राष्ट्रिय

दसैँ–तिहारको सुरक्षामा काठमाडौंमा ३ हजार ५०० प्रहरी परिचालन गरिँदै

2026-10-02
दसैँ–तिहारको सुरक्षामा काठमाडौंमा ३ हजार ५०० प्रहरी परिचालन गरिँदै
जिल्ला प्रहरी परिसर काठमाडौंले दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै काठमाडौं उपत्यकामा ३ हजार ५०६ जना प्रहरी परिचालन गर्ने विशेष सुरक्षा योजना लागू गरेको छ।
​चाडपर्वका बेला हुन सक्ने चोरी, लुटपाट, ठगी, पाकेटमारी, जुवातास तथा यात्रुमाथि हुने असुली र दुर्व्यवहार नियन्त्रण गर्न प्रहरीले २२ प्रकारका ड्युटीमा जनशक्ति खटाएको हो।
​सुरक्षा योजनाका मुख्य विशेषताहरू:
​कडा निगरानी र प्रविधि प्रयोग: काठमाडौंका १,२४२ वटा सीसीटीभी क्यामेराबाट चौबीसै घण्टा निगरानी गरिनेछ। अति भीडभाड हुने र संवेदनशील क्षेत्रमा ३ वटा ड्रोन तथा तालिमप्राप्त कुकुर प्रयोग गरिनेछ।
​मुख्य नाका तथा बजार सुरक्षा: नागढुंगा, कलंकी, कोटेश्वर, गोंगबु (नयाँ बसपार्क), बल्खु, बालाजु लगायतका प्रस्थान बिन्दुमा विशेष चेकपोइन्ट र यात्रु सहायता कक्ष स्थापना गरिएको छ।
​गस्ती र सादा पोशाक प्रहरी: सूचना संकलनका लागि सादा पोशाकमा प्रहरी टोली, २४ वटा मोबाइल गस्ती र ७६ वटा Quick Response Team (QRT) परिचालन गरिएको छ।
​बैंक तथा वित्तीय संस्था: बैंक, वित्तीय संस्था, सुनचाँदी पसल, सपिङ मल र खाद्यान्न/खसी बजार वरपर गस्ती बढाइएको छ।
​प्रहरीको नागरिकलाई विशेष अपिल:
​घर छाड्दा सावधानी: लामो समयका लागि घर खाली गरेर जाँदा ढोका-झ्याल राम्रोसँग बन्द गर्न, नगद तथा गरगहना घरमा नराख्न र छिमेकी वा प्रहरीलाई जानकारी गराउन अनुरोध गरिएको छ।
​ठगी तथा अफरबाट बचौँ: सामाजिक सञ्जालमा आउने 'लक्की ड्र' वा अस्वाभाविक उपहारका प्रलोभनमा परी रकम र व्यक्तिगत विवरण सेयर नगर्न सचेत गराइएको छ।
​आपत्कालीन सम्पर्क: कुनै पनि शंकास्पद गतिविधि वा समस्या देखिएमा तुरुन्तै प्रहरीको टोल फ्री नम्बर १०० मा सम्पर्क गर्न प्रहरीले आग्रह गरेको छ।
सेयर गर्नुहोस्:
Facebook